राजधानीमै यस्तो ठाउँ, जहाँ कुखुरा खान त के नामै लिन मिल्दैन !

ललितपुर । अहिले विश्वभर विश्वासको खडेरी पर्यो भन्ने सुनिन्छ । जताततै अविश्वास बढ्यो पनि भनिन्छ । तर, ललितपुरको खोकनामा द्वापर युगदेखिएको एउटा विश्वास जीवितै छ । त्यो मान्यता अहिले पनि मरेको छैन । ललितपुर खोकनाका स्थानीय अहिले पनि द्वापर युगमै छन् भन्न भने मिल्दैन । यो अहिले महानगरभित्र पर्छ । महानगरलाई अर्को अर्थमा प्रमुख शहर भनिन्छ । यो महानगर मुलुककै राजधानीमा पर्छ ।

तर, कलिमा पनि द्वापरयुगको एउटा मान्यता जीवित छ । जो कहिल्यै संशोधन वा परिमार्जन भएन । त्यो टुटेको पनि छैन । ललितपुर महानगर–२१ खोकनामा पूरानो मान्यता कायमै छ । त्यो के भने, ‘कुखुरा पाल्न नि नमिल्ने, खान नि नमिल्ने’ । अनि त्यतिमात्रै होइन, जसले द्वापर युगमा चोरी भएको भनिएका श्रीखण्ड भगवानको पूजा अर्चना गर्छन्, तिनले लसुन पनि खानु हुँदैन भन्ने मान्यता छ । तर, लसुन पूजासँग सम्बिन्धित मान्छेहरुलेबाहेक अरुले खाँदा फरक पर्दैन । यद्यपि, धार्मिक र पूरातात्विक महत्व बुझेका मान्छेहरुले त्यो पनि खाँदैनन् ।

खोकनामा हाँस, खसी, बोका पाल्दा केही फरक पर्दैन, उनीहरुको वध गर्दा अथवा मासु खाँदा पनि केही फरक पर्दैन । तर, कुखुराको भने कसैले नाम लिँदैनन् । पूजा गर्दा पनि हाँसको अण्डा देउतालाई चढ्ने तर, कुखुराको अण्डा नि चढ्दैन । हाँसको बलि पनि चढ्छ । कुखुराको नाम लिन हुँदैन ।

नेवार मसुदायको बाहुल्यता रहेको खोकनामा कुनै परिकारको रुपमा कसैको घरमा कुखुरा पाक्दैन । कुखुराको नामै लिन नहुने,, कारण के हो त ? स्थानीय अर्थबहादुर महर्जन भन्छन्, ‘बाजे बराजुकै पालामै कुखुराको नाम लिइँदैन थ्यो । कुखुरा छुन त के नाम लिन नि हुँदैन ।’ यहाँ बसेको बाजे बराजुकै पाला देखि हो, यो ठाउँमा हामीले कुखुरा देखेका छैनौँ, उनले भनेका छन् । उनले कारण दिएनन् ।

यस्तै, ८१ वर्षीया सन्तमाया खोकनामै जन्मिएको सुनाउँछिन् । उनी भन्छिन्, ‘मैले पनि कहिल्यै कुखुरा देखिन । हाम्रो यहाँ भगवान्लाई नै मन पर्दैन । यहाँ कुखुरा पाले वा वध गरे अनिष्ट हुन्छ भन्ने मान्यता छ ।’ कसैले कुखुरा खाएकै छैनन् त ? ‘छैन । नयाँ पुस्ताले बाहिर गएर के गर्छन् थाहा छैन । यहाँभित्र कसैले खाँदैनन् ।’

कुखुराको नामै लिन नहुने के छ त कारण ? सन्तमायाले भनिन्, ‘द्वापर युगमा यहाँको भगवान् चोरी भएको भन्ने छ । नकराउनु पर्ने समयमा कुखुरा कराएपछि टोलभरीका मान्छे उठे । पछि भगवान् चोरी भएको थाहा भयो । कुखुरा कराएको सुनेपछि चोरले भगवानलाई लसुनबारीमै छोडेर भागेको तथा कुखुराकै कारण भगवान् चोरी हुनबाट जोगिएको किंवदन्ती छ ।’ त्यहीँबाट कुखुरा पाल्यो अथवा वध गर्‍यो भने भगवान् रिसाउँछन् भन्ने मान्यता अहिले पनि कायम छ, उनले भनेकी छन् ।

१२ घण्टा निरन्तर नाँच
यस्तै, नजिकै रहेको रुद्रायणी मन्दिरमा वर्षमा दुई पटक नाँच हुन्छ । जसमा १२ घण्टा निरन्तर नाच्नु पर्छ । नाच्ने १२ जना हुन्छन् । नाच्न थालेको दिनदेखि कहिल्यै कपाल काट्न पाइँदैन । नाच्ने जिम्मा बाबुपछि छोराले लिनु पर्दछ । स्थानीय एकादशी महर्जन भने, ‘यो पुस्तान्तरण हुँदै जान्छ ।’ किन गरिन्छ यो पूजा ? उनी भन्छन्, ‘गाउँमा राम्रो हुन्छ । सोंचेको र मागेको कुरा पुग्छ । त्यसो गरिएन भने अनिष्ट हुन्छ भन्ने मान्यता छ ।’

पूजामा हाँसको अण्डा, बोका, राँगा र अन्य पूजा सामाग्री नै हो चाहिने । यो परापूर्वकालबाटै सुरु भएको पूजा हो, कति पुस्ता विते,–उनले भनेका छन् । रुद्रायणी मन्दिर नख्खुबाट चार किलोमिटरभित्र दक्षिणमा अवस्थित छ ।

Source: Click here

Post expires at 4:32pm on Wednesday April 4th, 2018

%d bloggers like this: